शुक्रबार, ०४ जेठ २०८१

व्यक्तिको सोच नबदली समाज बदल्न सकिन्न : सांसद दानी

बाजुरा : सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले सत्कर्ममा विश्वास गर्नु पर्नेमा जोड दिएकी छन् । स्वार्थ पुरा गर्न गरिने जालझेल, षड्यन्त्र र तडकभडकले तत्कालका लागि फाइदा गरेपनि गलत नियतका साथ गरिने कुकर्मले दिर्घकालिन रुपमा असर गर्ने धारणा राखेकी छन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय बाजुराले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै सांसद दानीले सोच सकारात्मक राख्न सुझाव दिएकी छन् । ज्ञान, कर्म र भक्ति योगका ज्ञाता भगवान श्रीकृष्ण सत्कर्म गरेकै कारण संसारमा भगवान कहलिएको र समाजका लागि आदर्श बनेको उदारण दिँदै उहाँले कृष्ण चरित्र आत्मसाथ गर्न सुझाव दिएकी छन् ।

हामीले आफू मात्रै होइन, समाज बदल्नु छ, समाज बदल्नु भन्दा पहिला आफू बदलिनु छ । त्यसका लागि सेवाभाव, सहयोगी व्यवाहार र सकारात्मक सोच सबैका हुन जरुरी रहेको सुझाव दिएकी छन् । समाज सुधार्न व्यक्ति बदलिनु पर्छ, व्यक्ति बदलिएन, व्यक्तिको सोच सकारात्मक भएन् र सत्कर्म गरिएन भने समाज बन्दै बन्दैन्, यसमा सबै जिम्मेवार हुनु पर्छ दानीले भन्नु भयो ।

श्रीकृष्णले आजीवन सत्यको पक्षमा रहि सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेजस्तै आफु पनि राजनीति, पेशा ब्यवसाय लगायत जुन क्षेत्रमा लागेको भएपनि सत्यको क्षेत्रमा हिड्ने र आत्मजागरण ल्याउने काममा लागिरहेको बताएकी छन् । 

नेपाली काँग्रेस महासमिति सदस्य समेत रहेकी सांसद दानीले सामाजिक विकृति, विसंगति र विभेदका विरुद्ध पनि लाग्न सुझाव दिनु भएको छ । श्रीकृष्ण जन्मअष्टमीको अवसर पारी रासलिला चैतन्य झाँकी एवम् प्रवचन तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

राजयोग प्रशिक्षण केन्द्र डोटीका ब्रह्माकुमारी जानकीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रदेश सभा सदस्य जुना दानी, जिल्ला समन्वय समिति तुलसीराम रोकाया, बडिमालिका नगरपालिकाका उपप्रमुख नन्दा कुमारी थापा, पूर्व उपप्रमुख कबिता बिष्ट, हिन्दु महासंघका केन्द्रिय सदस्य तुला पाध्याय सहीतको सहभागि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस