शुक्रबार, ०२ कार्तिक २०८१

एमाले बाजुराको तीनदिने जिल्ला स्तरीय प्रशिक्षण मार्तडीमा सञ्चालन

बाजुरा : नेकपा एमाले बाजुराले तीन दिने पार्टी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । पार्टी जिल्ला कमिटीका सदस्य नेताहरु लक्षित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको अध्यक्ष लालबहादुर ओलीले जानकारी दिएका छन् । कार्यक्रम बडीमालिका नगरपालिकाको सभाहलमा जारी छ । 

गएको जेष्ठमा सम्पन्न आठौं जिल्ला अधिवेशन पछिको बैठकले असोजमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । नेता, नेतृत्व, संगठनात्मक पार्टी संरचना, जनताको बहुदलिय जनवाद, पार्टी सञ्चालन शैक्षिक र सामाजिक सञ्जाल प्रयोग बारे नेताहरुलाई प्रशिक्षण दिन लागिएको हो । 

प्रत्येक जिल्ला कमिटी सदस्यलाई पार्टीको प्रशिक्षक कै रुपमा उत्पादन गर्ने र जिम्मेवारी पाएका वडा, पालिका कमिटीका नेता कार्यकर्तालाई प्रशिक्षण गराउने लक्ष्य एमाले बाजुराले राखेको छ । बाजुरामा लामो समयपछि तीन दिन प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको हो । 

पार्टी जिल्ला कमिटीका पदाधिकारी, सदस्य, एमाले पार्टी आस्थावान पालिका प्रमुख उप्रमुख र लेखा आयोजनाका पदाधिकारीहरुलाई प्रशिक्षणमा सहभागि गराइएको छ । दैनिक १२ घण्टा अनिवार्य प्रशिक्षण कक्षा सञ्चालन तालिका बनाइएको सचिव काशी विकले जानकारी दिएका छन् । 

प्रशिक्षणका लागि तीन दिनको बसाइ लिएर नेकपा एमाले उपमहासचिव प्रदस्प ज्ञवाली बाजुरा आएका छन् । स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवाली, पोलिटव्यूरो सदस्य ईश्वरी खरेल, पोलिटव्यूरो सदस्य समेत रहेका विभागका सदस्य राजेन्द्र सिंह रावल सहीतले प्रशिक्षण दिने तालिका तय गरिएको छ । 

पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, प्रकाश शाह, प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, उपाध्यक्ष कालीबहादुर शाही सहीतले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको छ । नेकपा एमालेले यतिबेला देशव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । 

नेतृत्व क्षमता विकासका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रमले पालिका, वडा र टोल स्तरका नेता कार्यकर्तालाई समेत योग्य र जिम्मेवार बनाउने गरि क्षमता विकास गर्ने योजनामा एमाले देखिएको छ । जिल्ला कमिटीमा बस्ने, जिम्मेवारी लिने तर नेता, नेतृत्व र संगठन बारे जानकारी नहुने समस्या बढीरहेको निष्कर्ष सहीत एमालेले देशव्यापी प्रशिक्षण सुरु गरेको हो । 

पार्टी जिल्ला अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा सञ्चालन भएको प्रशिक्षण कार्यक्रम उद्घाटन समारोहको सञ्चालन सचिव काशी विकले गरेका छन् । प्रशिक्षणमा सामाजिक सञ्जालको प्रयोग र उपलब्धी बारे पनि जानकारी गराइने भएको छ । प्रशिक्षणमा ९० जना बढी जिल्ला कमिटीका सदस्यहरु सहभागि छन् । 
 

प्रतिक्रिया दिनुहोस