शनिबार, १२ साउन २०८१

जनताका गुनासा सुन्न गाउँ हिँडे सुदूरपश्चिम प्रदेश सभा सदस्य शाही

बाजुरा : सुदूरपश्चिम प्रदेश सभा सदस्य पदम शाही घरदैलो अभियानमा जुटेका छन् । जनताका गुनासा सुन्ने, समस्या बुझ्ने र भेटघाट गर्ने उदेश्य बोकेर शाही घरभेट तथा घरदैलो अभियानमा जुटेका हुन् । कार्यकर्ता सहीतको टोली निर्वाचन क्षेत्रका पाँच वटै पालिकामा पुग्ने तालिका शाहीले बनाएका छन् ।

निर्वाचत जितेपछि निश्चित ठाउँमा मात्रै विजयी सभा र भेटघाट गरेका थिए । निर्वाचन जितेको ठिक एक वर्ष पछि शाही जनताका गुनासा सुनुवाईको उदेश्य सहीत गाउँ लागेका हुन् । प्रत्येक टोल र गाउँमा पुगेर प्रत्येक्ष भेटघाट र गुनासा सुन्ने गरि घरदैलो कार्यक्रम राखिएको काँग्रेसका युवा नेता भरत बुढाले जानकारी दिएका छन् ।

शाहीले बडीमालिका नगरपालिकाबाट भेटघाट कार्यक्रमलाई सुरु गरेका छन् । पहिलो चरणमा बडीमालिका नगरपालिका ३  रजालीबाट सुरु गरेर फेरि बडीमालिका नगरपालिका ९ मा समापन गर्ने तालिका बनाएका छन् । गौमुल, खप्तड छेडेदह, बुढीगंगा र त्रिवेणी हुँदै पुन बडीमालिकामै आएर घरदैलो टुंग्याउने योजना शाहीको छ ।

जनप्रतिनिधी प्रति सामाजिक सञ्जालमा जनगुनासो बढेपछि शाहीले प्रत्येक्ष भेटघाट गरेरै गुनासा सुन्ने र समस्या बारे जानकारी लिने, गरेको कामको बारेमा जानकारी गराउने र नयाँ कामको योजना सुनाउने योजना सहीत घरदैलो थालेका हुन् ।

शाहीले बाजुरा जिल्ला निर्वाचत क्षेत्र २ बाट प्रदेश सभामा जितेका हुन् । नेपाली काँग्रेसबाट निर्वाचित सांसद शाही पहिलो पटक भने पराजित भएका थिए । पहिलो पटक नेकपा एमालेका प्रकाश शाहसँग पराजित बनेका शाही दोस्रो पटक नेकपा एमालेकै नेता लालबहादुर थापासँग जितेका थिए ।

केही दिनदेखि गृह जिल्ला बाजुरामै रहेका शाहीले घरदैलो सुरु गर्नु पहिला सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधी, व्यापारी नागरिक समाजका प्रतिनिधीसँग पनि भेटेका थिए । त्योसँगै बाजुरा अस्पतालको निर्माण र सेवा अवस्था बारे पनि जानकारी लिएका थिए । घरदैलोका क्रममा शाहीले आस्था मिल्ने र नमिल्ने सबैसँग छलफल र भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।
No description available.

प्रतिक्रिया दिनुहोस