मिन बहादुर खड्का
बाजुरा : त्रिवेणी नगरपालिका वडा न . १ बिसाल टोलका ४५ वर्षका तुल बहादुर ल्वार विगत ७ महिना देखि बिरामीले थला परेर घरमै बसिरहेका छन् । उनको ८ जनाको परिवार छ । उनी विगत ७ महिना देखी जीवन र मृत्यु सँग लडिरहेका छन् । ल्वार जीवन र मरणको दोसाँधमा छन् ।उनको सरिर अहिले रम्ररी चल्दैन । उनका ७ वटा छोराछोरी र एक श्रीमती छन् । जेठी छोरीले बिवाह गरिसकेकी छन् ।
गरिब परिवारका ल्वार सँग कुनै ब्यापार व्यवसाय छैन । नत उनी सँग टन्नै जग्गा जमिन नै छ । प्रशस्त कमाई खाने जमिन समेत नभएका उनी भारतमा ज्याला मजदुरी गरेर सपरिवार पाल्दै आएका थिए । भारतकै भरमा चलेको उनको परिवारको अवस्था अहिले निकै नाजुक अवस्थामा पुगेको छ । श्रीमती पनि पेटको दीर्घ रोगी छन् । उनी कहिले सन्चो पाउदैनन् । सिङ्गो परिवार धेरै दुःख गरेर चलाउदै आएका उनी बिरामी परेर थला परेपछि अहिले सिङ्गो परिवार बिचल्लीमा छ । एकातिर श्रीमती भरु लुहार बिरामी छन् , अर्कोतिर आर्थिक अभावका कारण श्रीमतीको समेत उपचार गर्न नसकेका उनी अहिले आफै बिरामी छन् ।
भारत गएरै परिवार चलाउदै आएका लुवार गत वर्ष चैत्रमा रोजगारीको सिलसिलामा भारत जाँदै गर्दा बाटोमै बिरामी भए । कमाउनका लागि भारतको बाटो लागेका उनी बाटोमै बिरामी भएपछि आँधी बाटोबाटै फर्किए । घर फर्किएपछि उनी स्वास्थ्य संस्था सम्म पुगे । अस्पतालले प्यारालाइसिस भएको भन्यो । उपचारका लागि बाहिर गएर समयमा उपचार गराउनु चिकित्सकले सुझाव दिए । जुन रोगको उपचार बाजुरामा सम्भव हुने कुरै छैन । बाहिर गएर उपचार गराउनु सामान्य पैसाले सम्भव छैन ।
त्यसकारण पनि उनी अहिले घरमै उपचार अभावमा थला परेर बसिरहेका छन् । उसोत यो उनको रहर होइन, बाध्यता हो । थला परेर बस्नुको अर्को विकल्प छैन । एक दिन ज्याला मजदुरी नगरे चुलोमा आगो नबल्ने उनको परिवारमा उनी आफै बिरामी भएपछि के खाने भन्ने कुराको हाहाकार छ । श्रीमती बरु ल्वार भन्छिन्,“छोराछोरी भोकै राख्नु पनि भएन, बरु आफु त भोकै पनि बस्न सक्थे होला, तर नाबालकहरु भोकै बस्दा कसरी चित्त बुझाउनु ? श्रीमती भरु लुवारले आफ्नो दुखेसो सुनाइन् । भएको जग्गा जमीन पनि उपचार गर्नकै लागि बिक्री गरे, अहिले कमाई खाने जग्गा छैन, कमाउने कोही छैनन् , ६ छोराछोरी कसरी पाल्ने कसरी पढाई लेखाई गर्ने, भरुले थपिन् । ”
आमाबुवा दुबै बिरामी भएपछि छोराछोरीको पढाई प्रभावित भएको छ । उनकी ७ छोराछोरी मध्य सबै भन्दा जेठी छोरी २० बर्षिया यशोधाले घरको आर्थिक अवस्था कमजोर भएकै कारण ७ कक्षामै पढाई छोड्नुपर्यो । माइली छोरी १८ वर्षकी सबदा पनि कक्षा १२ उतिर्ण गरेकी छन् । तर त्यो भन्दा अगाडिको उच्च शिक्षा पढ्ने धोको अधुरै छ । १६ वर्षिया दुर्गा, छोराहरु १३ वर्षिया तुसार, ९ वर्षकी दवसरा ,७ वर्षिया चन्दन र सबैभन्दा कान्छा प्रशान्त लुवार अहिले गाउँमै रहेको छतारा आधारभुत बिद्यालयमा पढिरहेका छन् ।
बुवा बिरामीले थला परेपछि सबै जिम्मेवारी १८ वर्षीय सुबदाको काँधमा आएको छ । कक्षा १२ उतिर्ण गरेकी उनको काँधमा सिङ्गो परिवारको जिम्मेवारी थपियो । उच्च शिक्षा पढ्ने कुरा त टाढाको कुरा हो बरु बुवा आमाको उपचार कसरी गर्ने ? भाइबहिनीहरुलाई कसरी पाल्ने भन्ने चिन्ताले पिरोलीरहन्छ । बुवा आमाको उपचार र पालण पोषण कसरी गर्ने भन्ने ठूलो समस्या भएको उनको दुखेसो छ ।
“आमा पनि बिरामी , राम्ररी पढ्न लेख्न कसैले पाएका छैनन् जेठी दिदिले पढ्न नपाएरै बिवाह गर्नुभयो, । मेरो नी पढ्ने चाहाना त थियो तर कहाँबाट पढ्ने बिहान बेलुका पेट पनि कसरी पाल्ने भन्ने चिन्ता छ । उनले रुँदै आफ्नो दुखेसो सुनाइन् । बुबालाई प्यारालाइसिस भएको पुष्टि भएको ७ महिना पुगिसक्यो, उपचारका लागि पैसा नहुँदा घरमै हुनुहुन्छ, राम्रो खान्थ्यौ, राम्रै लगान्थ्यौ, अरुलाई पनि सहयोग गर्नुहुन्थ्यो, अरुलाई माग्नु परेको छ म संग पढ्ने साथीहरू अगाडि बढिसके भाइबहिनीलाई त रिण गाडेर पढाइरहेको छु सुबदाले भनिन् ।”
बिद्यालय त पढ्नु भन्नू मात्रै हो ती पाँच भाईबहिनीहरुका लागि कहिले कापी कलम हुँदैन, न स्कुल ड्रेस नै छन् , उमेरले सानै उनीहरु घरको परिस्थिति बुझ्ने भैसकेका छैनन् , बिद्यालयमा अरु साथिहरुले जस्तै ड्रेस लगाएर जाने रहर छ, तर रहरले मात्रै सबैलाई कहाँ पुग्थ्यो उनको परिवारको बिचल्ली छ, सबैले सक्दो सहयोग गर्न आग्रह गर्दछु, त्रिवेणी नगरपालिकाकै स्थानीय समेत रहेका पत्रकार गगन अयडीका अनुसार उपचारका र बिचल्लीमा रहेका बालबालिकाको उद्धारका लागि पहल भैरहेको बताइएको छ ।
कसैले सहयोग गरिदिए हुन्थ्यो भन्ने स्थानीयको अपेक्षा छ । यतिबेला प्यारालाइसिसले उपचार अभावमा थला परेका तुल लुवार बचाउ अभियान समेत सञ्चाल गरिएको छ । सहयोग अभियान बाट करिब १५ हजार बढी रकम संकलन भैसकेको सामाजिक अभियन्ता धिरेन्द्र थापाले जानकारी दिएका छन् । उनको परिवारको बिचल्ली छ भन्ने कुरा सबैलाई थाहा छ ।
स्थानीय सरकारका जनप्रतिनिधि भने बेखबर छन् । सरकारी तथा गैरसरकारी निकायको ध्यान गएको छैन । तुल ल्वार त एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै उपचार कयौं गरिब जनताले अकालमै ज्यान गुमाइरहेका छन् । चुनाबमा गरिब जनताको भोट मागेर नेता बनेकाहरु गरिबले उपचार नपाएरै मर्नुपर्ने अवस्था हुँदा पनि मौन छ । सिङ्गो राज्य बेखबर छ । निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने चुनावी नारा बोकेर जनताको घरदैलोमा भोट माग्न आउने नेताहरू त एक पटक अवस्था बारे बुझ्न समेत आउदैनन् । झुटा आश्वासन बाडेर जनतालाई भ्रमीत पार्नेहरु सत्ताको राजनीतिमै व्यस्त देखिन्छन् ।
गरिबीकै कारण उपचारका लागी अस्पताल पुर्याएकाहरु धेरै जसो पैसा नभएकै कारण जिउँदो फर्किदैनन् । सरकारले शिक्षा, स्वास्थ्य, लगायतमा निशुल्क कुरा गरिरहेको छ तर यता गरिब जनताहरु दिनप्रतिदिन उपचारको अभावमा ज्यान गुमाइरहेका छन् । यदि राजनीति पहुँच भएका घरका तुल ल्वार पनि थिए भने उनको उपचार सम्भव नभए अन्य देशमा लगिन्थ्यो होला, उपचारको काँही कतै अभाव हुने थिएन होला, तर उनि एक सर्वसाधरण गरिब ब्यक्ति हुन्, उनको उपचाको राज्यलाई के मत्लव ?
प्रतिक्रिया दिनुहोस