धुवाँले घरको भित्ता कालो छ। सायद यस्तै कालो हुँदो हो, चुरोट पिउने मान्छेको फोक्सोको भित्ता। भित्ताको घोड्किलोमा पुरानो ‘फिलिप्स रेडियो’ झुण्ड्याइएको छ।
क्लियर बजोस् भनेर एन्टेनाको तार लामो बनाइएको छ। बीबीसी नेपाली सेवा सुनेर सकियो। त्यसपछि एउटा रेडियो कार्यक्रम ‘सपनाको संसार’ बज्यो।
यतिञ्जेल खाना खाइवरी सकिएको थियो। हामी बा–आमाका सन्तान र बा–आमा भुईंमा पलेंटी कसेर बसेका थियौं। बाहिर हावाहुरी चलेको आवाज घरको आँखीझ्याल हुँदै घरभित्र पस्यो। घरभित्र जस्तै दिलभित्र पनि चिसो पस्यो। आमा बोल्नुभयो- अब कैको पाखो (छानो) ओडाइदिंदो (उडाउँदो) भयो। यस्तो बल्यो बयालो (चर्को हावा)।
झ्याप्प बत्ती गयो। अँगेनामा बलिरहेका दाउराले हामीलाई सहारा दियो। कार्यक्रम ‘सपनाको संसार’ मा प्रस्तोताले एक जना स्कुले विद्यार्थीलाई सोध्दै थिइन्, ‘भविष्यमा के बन्ने सपना छ ? …’
उता प्रस्तोताको प्रश्न भुईंमा पोखिन नपाउँदै मैले बालाई सोधें, ‘बा म जन्मिनु अगाडि मप्रति तपाईंका सपना के थिए ?’
‘तँ जन्मिनु नै एक सपना थियो। तेरी आमा र म शून्य थियौं। तँ अगाडि थपिन आइस्। हामी दुवैको मान बढ्यो। यसरी हामी ‘घर न घाट’का बाट ‘घरका’ भयौं। समाजका भयौं। समाज हाम्रो पनि भयो। बाले मलाई सप्रसङ्ग उत्तर दिनुभयो।
बा गाउँको मास्टर हुनुहुन्थ्यो। बालाई प्रायःले मास्टर भन्छन्। बा मास्टर भएपछि आमा स्वतः मास्टर्नी हुनुभयो। गाउँ यसकारण शहरभन्दा भिन्न छ कि गाउँमा मुखियाकी श्रीमती मुख्यानी हुन्छिन्, डाक्टरकी श्रीमती डाक्टर्नी, ठेकेदारकी श्रीमती ठेकेदार्नी। शहरमा यस्तो हुँदैन सायद!
बाको उत्तर सुनेपछि छेउमै राखिएको कसौंडीको चिसो पानी पिएँ। आनन्द आयो। तिर्खाएको बेला पानी पिउनुको आनन्द केवल पिउनेलाई थाहा हुन्छ। एकछिन घोत्लिएँ। हो, म जन्मिनु अगाडि मेरा बाआमाको एउटा साझा सपना ‘सन्तान पाउनु’ नै थियो।
बाआमाको बिहे भएको आधा दर्जन वर्ष भइसकेका थिए। तैपनि आमाको कोख खाली थियो। बाको काँध खाली थियो। केटाकेटी खेल्ने हाम्रो घरको दलिन खाली थियो। नातिनातिना खेलाउने बाजे बज्यैका हात रित्ता थिए।
‘बच्चाबच्ची कहिले?’ भनेर सोध्ने छिमेकीका तिखा प्रश्नमा बाआमाको उत्तर पनि खाली थियो। म जन्मिएँ। सबै एकै चोटि भरिए। घर पूर्ण भयो। साँघुरो हुनुपर्ने आँगन झन् फराकिलो भयो। घरका बाटाहरू झन् चौडा हुँदै गए।
यसरी म जन्मिनु पनि बाको एउटा सपना थियो। आज बा–आमाको सपना बा–आमा जत्तिकै अग्लो भयो। छेउमा उभिन सक्ने भयो।
****
केही समय अघि विद्या चापागाईंको हेर्ने कथा ‘कुमाउँको कथा’ युट्युबमा चर्चित थियो। त्यो मेरै गाउँको कथा हो। त्यो कथाका पात्र ‘भक्तबहादुर’ हुन्। संयोग बाको नाउँ पनि त्यही हो।
त्यो एउटा प्रतिनिधि कथा मात्रै हो। तर यथार्थमा, यो सुदूरपश्चिमका पहाडी जिल्लाको घर–घरको व्यथा हो। आँगन–आँगनको अभिशाप हो।
चुल्हो चुल्होको रोदन हो। गाउँका मान्छेहरू कति ‘फराकिला’ हुन्छन् भन्ने कुरा ‘कुमाउँका कथा’का पात्र भक्तबहादुरलाई हेरे पुग्छ। गाउँमा मानवता अझै ज्युँदै छ। त्यसैले मानवता, आत्मीयता र सौन्दर्यता गाउँका त्रिवेणी हुन्। ओदानका तीन खुट्टा जस्तै।
बा सानैदेखि पढाइमा अब्बल हुनुहुन्थ्यो। त्यो बेला हाम्रो घरको आर्थिक अवस्था जस्तो, आजकाल देशको आर्थिक अवस्था छ। नाजुक, भताभुङ्ग। ऋण उकालो, आत्मनिर्भरता ओरालो। आफ्नो गोजी खाली। छिमेकीले नपत्याउने। चरम निराशाको रङ पोतिएको पृष्ठभूमि।
हजुरबा ६ महिना घरको काम गर्ने, ६ महिना भारतका पहाडी भेग (त्यो बेलाका गाउँ, हालका शहर) मा भारी बोक्न जाने। त्यति धेरथोर कमाइले बालाई पढाउन र घरको खर्च धान्न बहुत गाह्रो हुन्थ्यो। यी हजुरबाले बालाई र बाले मलाई सुनाएका व्यथा हुन्।
दुई–चार महिना स्कुल बिदा हुँदा बा आफैं पनि भारत जानुहुन्थ्यो। मेरो गाउँमा भारतलाई ‘नैताल’ भन्ने प्रचलन अझै पनि छ। यसरी गाउँमा नैताल बाँच्छ। नैताल बन्द भएको दिन, गाउँको मुख बन्द हुनेछ। अभावको मुख झन् चौडा हुनेछ। नैतालले बाँच्ने गाउँका सपनाहरूको रंग कस्तो हुँदो हो ? बाँच्न मात्रै पनि भारतको भर पर्ने निमुखा जनताका आँखाले देख्ने सपना कस्ता हुँदा हुन् ?
बाको त्यो बेला एउटा सपना थियो– ‘मास्टर’ बन्ने। यसको विकल्पमा ‘सुब्बा’ बन्नुथियो रे! आजभोलि बालाई मास्टर र सुब्बामा रोज्न लगाउँदा, बा सुब्बा रोज्नुहुन्छ। तर उबेला मास्टर रोज्नुभएछ। र आजपर्यन्त बा मास्टर हुनुहुन्छ।
अँधेरो कोठामा झ्याप्प बत्ती निभे जस्तै बाको सुब्बा बन्ने सपना पनि निभ्यो। आज बा सुब्बा भइदिएको भए, म पनि ‘सुब्बा साहेब’को छोरो हुन्थें। गुड्दै गरेको गाडीमा जहाँनिर तेल सकिन्छ, गाडी त्यहींनिर रोकिन्छ।
ठ्याक्कै त्यस्तै चलिरहेको आर्थिक गतिविधिको तेल सकिएपछि, बाको पढाइको गाडी रोकियो। केही सपनाहरूमा खिया लागे। केही सपनाहरू हिउँ बिलाए जस्तै बिलाइगए। केही सपनाहरूमा डढेलो लाग्यो। त्यसपछि समय निकै दौडियो।
बाले गरेको मिहिनेतका हाँगाबिंगा पलाए। बाको जिन्दगीले लय समात्यो। बाले चक र डस्टर समात्नुभयो। यसरी बाले चकको धुलो मात्रै घोट्नुभएको छैन, धुलो सँगै उर्बर जीवन पनि घोट्नुभएको छ।
****
सात आठ कक्षा पढ्ने बेलाको कुरा हो। दिनभर रनवन घुमेर साँझ गुँड फर्किएकी चरी झैं, घर फर्किएँ। चुल्हो नजिकै बा पुरानो आँसीले (हँसिया) तरकारी काटिरहनुभएको थियो।
थकाइ, पीर र चिन्ताले पसिना–पसिना भएको थिएँ। वर्षात्मा आकाश चुहिए जस्तो मेरा शरीरबाट पसिनाका धाराहरू चुहिरहेका थिए। काँधको हलो र जुवा सम्बन्धित ठाउँमा राखें। कम्मरमा बाँधेको हलौडो (हल्लुड, हल्लुडो) घोड्किलामा (सामान झुण्ड्याउन भित्तामा ठोकेको काठ) झुण्ड्याएँ।
कुखुराको बच्चा, माउ नजिक सरे जस्तै बाको नजिकै सरें। उसै गरी बालाई भनें, ‘बुवा, यसपालि भौनेरा हाम्रो भाग (जमिन) मात्रै बाँझो रह्यो। तलतिर अंकलले गहुँ छर्नुभयो। मास्तिर पार्तोला बाजेले गहुँ छर्नुभयो। पर्तिर ठूलाबाले उवा (गहुँको एक प्रजाति) छर्नुभयो। हाम्रो बाँझै छ।’
‘ह्या रन्दे (रहन दे)। उनीहरूका गणामा हीरा फल्ने हैन। सुन फल्ने पनि हैन। पछ्यार (पछि) छरेको बीउ पनि आउने हैन। कहिले हिउँ पर्छ। कहिले पर्दैन। यसपालि हिउँ नपर्ने पालो हो। हिउँ नपरेपछि, गहुँ सुक्छ। बरू त्यो गड्यान (जमिन) मा अब ओखर लगाउनुपर्छ।’
बालीनाली प्रति बाको अविश्वास थियो यो। प्रेम टुटिसकेपछि, प्रेमी–प्रेमिकाको मन एकअर्का प्रति जसरी भाँचिन्छ ठ्याक्कै खेतीपातीप्रति बाको विश्वासको हाँगो त्यसैगरी भाँचिएको छ, नपलाउने गरी। यो हिमालका किसानको आँखामा हुर्केको ‘पीडाको बिरुवा’ हो।
हिमालमा खेतीपातीमा जति मिहिनेत गरिन्छ, फल त्यसको आधा पनि नपाउने भएपछि मेरा बा मात्रै हैन, गाउँभरिका बा चिन्तित थिए। ‘खेती गरेर परिवार पाल्न सकिन्छ’ भन्ने सपनामा बाले स्थायी ‘बन्ध्याकरण’ गरिसक्नुभएको थियो। त्यो बारीमा खेती गरौं भन्दा आमा भन्नुहुन्थ्यो, ‘नझान्या गाउँको बाटै नसोध्नू।’
त्यसैले धेरै पहिलेदेखि भौनेरामा ओखर रोप्ने बाको मात्रै हैन, आमाको पनि सपना थियो। हाल बा–आमाको त्यो सपना हुर्किएर डेढ वर्षको भएको छ। अर्थात् ओखर हुर्किएर डेढ वर्षका ‘बचेरा’ भएका छन्। धन्न बाको यो सपना ‘बिचरा’ हुन पाएन। बा धन्य भए। वर्षौंदेखिको बाँझो जमिन बोल्दो हो त, बालाई भन्दो हो, ‘तेरो सपना फलोस् फुलोस्। भाग्यले चाँदा (निधार) हात नराखोस्।’
****
गाउँमा बा लगायत पाँच जना स्थायी शिक्षक हुनुहुन्थ्यो। सबै मास्टरका छोराछोरीहरू निजी स्कुल पढ्थे। बा एक्लो सर हुनुहुन्थ्यो, जसका सबै छोराछोरी सरकारी स्कुलमा पढ्थे।
‘कम्तीमा एउटा बच्चालाई त निजी स्कुल पढाउनुपर्छ’ भन्ने हावा गाउँमा आज पनि बिहान–बेलुका चल्छ। त्यो हावाबाट हाम्रा बा अछूत रहेनन्। बा दूषित हावाका सारथि बन्न पुगे। हजुरबा र आमा, बाका ‘क्याटालिष्ट’ भए। मैले बुझिसकेको थिएँ– अब मैले गाउँ र घर सँगै छोड्नुपर्छ।
गोठालो जानु, चराचुरुङ्गीको आवाज सुन्नु, अग्ला ढुङ्गामा चढेर ठूलो स्वर निकाल्नु, अरूका गोरूसँग आफ्ना गोरू जुधाउनु मेरा त्यो बेलाका सोख थिए। यति भएपछि मलाई पेटभरि खाना नभए पनि हुन्थ्यो।
जंगलबाट गोठ फर्किरहेको एक बुढो साँझमा हजुरबाले मलाई सोध्नुभयो – गाई ठूलो कि भैंसी?
भैंसी।
तँ गरेर खान्छस् कि खाएर गर्छस् ?
खाएर गर्छु।
तँ जुन बाटो आइस्, त्यही बाटो फर्किन सक्छस् ?
सक्छु।
एउटा पनि जवाफ नमिलेको इशारामा हजुरबाले टाउको दायाँ–बायाँ हल्लाउनुभयो।
‘भैंसी भन्दा गाई ठूलो हो। छोरा मान्छेले गरेर खान्छ। मान्छे जुन बाटोबाट धरतीमा आएको हो, ऊ त्यही बाटो फेरि फर्कन सक्दैन।’ हजुरबाले एकै सासमा यति बोल्नुभयो। म अलमलमा परें। एउटा पनि उत्तर नमिलेपछि ‘उल्लु’ हुनुको अर्को विकल्प मसँग थिएन।
म रल्ले काकाले दाउरा चिरेको हेरिरहें। दाउरा चिर्न मलाई असाध्यै मन पर्थ्यो।
केही समयको पर्दापछि हजुरबाले भन्नुभयो, ‘तैंले अब बोर्डिङ पढ्नुपर्छ। तँलाई बोर्डिङ पढाएर, ठूलो मान्छे बनाउने तेरा बाको एक्लो सुइना
हो।’
मेरा खुसीहरू माथि बिर्को लाग्यो। दाउरा टुक्रा–टुक्रा भए जस्तै मेरा खुसीहरू टुक्रा–टुक्रा भए। केही थान खुसीहरू फाटे। अनुहार एकैछिनमा साउन–भदौको बादल जस्तै कालो–नीलो भयो।
डेढ घण्टाको दूरीमा पर्ने छिमेकी गाउँमा बोर्डिङ स्कुल खुल्यो। सुख्खा जंगलमा डढेलो जति छिटो फैलिन्छ, बोर्डिङ स्कुल खुलेको समाचार पनि त्यति नै छिटो फैलियो। मलाई त्यहीं भर्ना गर्ने कुरा भयो।
घरबाट हजुरबा, हजुरआमा र आमाले टीका लगाएर पठाउनुभयो। म अर्को गाउँ गएँ। बा मलाई पुर्याउन जानुभो। त्यो बेला गाउँमा सडक पुगेको थिएन। हिंड्दै, ठाउँहरू चिनाउँदै बाले म पढ्ने स्कुल पुर्याउनुभयो।
खाना, कापी–किताब, लत्ता–कपडा र बसाइको बन्दोबस्त गरी अर्को दिन सबेरै बा घर फिर्नुभो। नयाँ गाउँ, नयाँ ठाउँ, एक्लो म, बिरानो समय अनि बाको सपना। मलाई त्यो समय अहिले सम्झिंदा पनि नरमाइलो लाग्छ। नमीठो अतीतले हृदयमै हान्छ।
म स्कुल गएको तेस्रो दिन। सरकारी स्कुलबाट भर्खरै आएको ‘बिचरो’ थिएँ। उता ‘गणित सर’ भन्नुपर्थ्यो यता ‘म्याथ सर’ भन्नुपर्ने भो! अग्लो, गोरो, पातलो शरीर। चट्ट मिलेको सर्ट–पाइन्ट र कम्मरमा कालो पेटी। म्याथ सरको हुलिया यही हो।
मलाई चारको दुना (टेबल) सोधियो। म बीच बीचमा अड्किएँ। गालाको कमलो रातो छाला माथि अधबैंसे पुरुषको थप्पड बज्यो। पत्थरमा बजारेपछि चर्किएको ऐनाको हालतमा म थिएँ। कुरो यतिमा रोकिएन। कम्मरको पेटी खोलेर मेरो ढाडमा बर्साइयो। नराम्रो यातना दिए। रोएँ–कराएँ। मनमनै बालाई गाली गरें। घरपरिवारलाई धिक्कारें।
चौथो दिन, हतोत्साहित मानसिकता, निन्याउरो अनुहार र गह्रुङ्गो शरीर लिएर स्कुल गएँ। मलाई ‘हेडवाइ इङ्गलिस’ भन्ने विषयको मिनिङ सोधिन् एउटी मिसले। मलाई केही मिनिङ आए, केही आएनन्। थप केही नभनी बेस्सरी लात्ती–लात्तीले पिटिन् ती मिसले। यस्तो पिटाइ, हिंसा र यातना मैले त्योभन्दा अघि कहिल्यै भोगेको थिइनँ। बोर्डिङ स्कुल भनेपछि आज पनि शरीरमा काँडा उम्रन्छ। उम्रेको काँडा फुल्छ पनि।
त्यसै दिनको साँझ, स्कुलबाट फर्किने बेला म फेरि त्यो स्कुल कहिल्यै पाइला नटेक्ने गरी कुलेलम् ठोकेर घर भागें। मसँगै थप दुई जना अरू पनि भागे।
अर्को दिन बाले फेरि स्कुल पुर्याउनुभयो। बाको जबर्जस्तीका अगाडि मेरो चाहनाले घुँडा टेक्यो। त्यो दिन बा राति मसँगै सुत्नुभो। अर्को बिहान स्कुल पुर्याउनुभो। मलाई रत्तिभर त्यहाँ पढ्न मन थिएन। पहिलो घण्टी पढेर म फेरि भागें। अर्कै बाटो भएर, बा पुग्नुभन्दा पहिले घर पुगें।
त्यसपछि न मलाई बोर्डिङ पढ्न पठाइयो, न अरू भाइबहिनीलाई नै।
यसरी छोरालाई बोर्डिङ स्कुल पढाउने बाको सपना खरानी भयो। बाको सपना माथि समयको डोजर चल्यो। बाले सोचेको योजनाको नक्सा भत्कियो। त्यसपछि मेरो आलो घाउ माथिको नूनचूक बा बन्नुभएन।
****
आफ्नो परिवार माथि मान्छेका औसत कर्तव्य जे हुन्छन्, बाका चाहना पनि त्यस्तै थिए। उबेला सरकारी मास्टरको तलब निकै कम थियो।
एकछिन बाको तलबलाई ‘पखेटा’ मान्ने हो भने, अण्डाबाट चल्ला कोरल्न त्यति पखेटा पर्याप्त थिएनन्। यदि बाको तलब सिरक हुन्थ्यो भने, खुट्टातिरबाट ओढ्दा टाउको छोप्दैनथ्यो। अनि टाउकोतिरबाट ओढ्दा खुट्टा छोप्दैनथ्यो। जति थियो त्यो आधा थियो। अपर्याप्त थियो। बाढी पीडितलाई सरकारले दिएको राहत जस्तो!
तलबले परिवारका दैनिक आवश्यकता ‘सजिलै पूर्ति’ हुँदैनथे। यदि तलब मान्छे हुँदो हो त, ऊ लामो सास फेर्थ्यो होला र बातिर हेर्दै भन्थ्यो होला– ‘मलाई पनि त आराम चाहिन्छ नि हाओ ! म थाकें।’
यस्तो दिन कहिल्यै आएन। यदि आएको हुन्थ्यो भने तलब थाकेकै दिन, हाम्रो घरको चुल्हो पनि थाक्थ्यो। हाम्रो खाने मुख थाक्थ्यो। बाले जेनतेन धान्नुभयो। खडेरीमा पनि बा मधुमास हुनुभयो। मरुभूमिमा पनि तलब बालुवा हैन, पानी नै भयो। चाहे त्यो केही थोपा मात्रै किन नहोस्!
घरको आर्थिक अवस्थामा इँटा थप्न बाको मनमा ‘व्यापार’ ले बीजारोपण गरेछ। बा अहिले पनि भन्नुहुन्छ, ‘व्यापारले अपार गरिदिन्छ।’ अचम्मको कुरा त, बा न यसो भन्न छोड्नुहुन्छ, न व्यापार गर्नुहुन्छ। अहिले लाग्छ ‘बा र व्यापार’ समानान्तर रेखा हुन्। जो सँगै छन्, कहिल्यै भेटिंदैनन्।
गाउँमा सबै चिजवस्तु एकै दोकानमा पाइन्छन्। सुन्दा अप्ठ्यारो लाग्ला। गाउँका किराना पसलमा लुगाकपडा पनि पाइन्छन्। लुगा कपडा पाइने पसलमा खाने तेल पाइन्छ, चिनी पाइन्छ। स्टेसनरीका सम्पूर्ण सामान एकै ठाउँ पाइने गाउँमा कुनै दोकान थिएनन्।
स्टेसनरी पसल खोल्ने कुरा बाको एउटा सपना थियो। यो सपना भन्दा पनि व्यापार थियो। यदि यो पूरा भैदिएको भए यसलाई म आज सपना भन्दिनथें। यो पूरा भएन तसर्थ यो सपना भयो। बाको यो सपनाले पनि पानी भन्न पाएन।
अझै पनि भाइबहिनीले बुवालाई किताब कापी किन्न पैसा माग्दा जवाफमा मेरी आमा भन्नुहुन्छ, ‘बुवाको कापी कलमको ठूलो दोकान छ रे! त्यहींबाट लेऊ!’
बा माथि आमाको यो ‘व्यङ्ग्य मिश्रित गुनासो’ हो। सुनेर बा हाँस्नुहुन्छ– कबड्डी फिल्ममा ‘बिके’ पात्र हाँसे जस्तो।
****
गाउँबाट तीन दिन पैदल हिंडेपछि मात्रै बा आफ्नो पढाउने स्कुल पुग्नुहुन्थ्यो। त्यो बेला बाजुरा मात्रै हैन, देशभरि माओवादीको सशस्त्र युद्धको आगो बल्दैथियो। देश युद्धको भुमरीमा थियो। गाउँका सर्वसाधारण शिक्षकहरू माओवादीको निसानामा पर्थे। उनीहरूले भनेअनुसार नगरिदिंदा जे पनि हुन सक्थ्यो। जे पनि भयो भने, न सास भेटिन्थ्यो, न लास नै!
बा घरभन्दा निकै टाढा हुनुहुन्थ्यो। आमालाई चिठी लेख्न आउँदैनथ्यो। बा स्वयम् भौतिक रूपमा घरमा नआउँदासम्म न बाको खबर घर आइपुग्थ्यो, न घरको खबर बाकहाँ पुग्थ्यो। केही महिनाको अन्तरालपछि जब बा घर आउनुहुन्थ्यो, बा एक्लै आउनुहुन्नथ्यो, खुशीको बोरा बोकेर आउनुहुन्थ्यो। हाम्रो ओठमा मुस्कान फुल्थ्यो। आँखाबाट खुसीको आँशु झर्थ्यो। घर सुगन्धित हुन्थ्यो। बुढी हजुरआमा गिजै देखाएर हाँस्नुहुन्थ्यो।
बा बेला–बेला सुनाउनुहुन्छ। त्यो बेला बाँच्नु नै सबभन्दा ठूलो सपना थियो। मर्नु परे पनि परिवार सँगै मर्नु अर्को सपना थियो। घर छोडेपछि, पुनः घर फर्किनु पनि सपना थियो।
हो, आज बा बाँच्नुभयो। बाले देखेका, मैले लेखेका बाका सपनाहरू पनि बासँगै बाँचिरहेका छन्। कसको कृपाले हो, गाउँका अरू मान्छे जस्तो हाम्रा बा माओवादीको निशानामा पर्नुभएन। फाट्टफुट्ट कार्यक्रम र आन्दोलनमा त जानै पर्थ्यो।
विना कारण ज्यान गुमाएका कैयौं शिक्षकका छोराछोरीहरू आज पनि कर्णाली र बुढीगंगा नदीसँग बा फिर्ता माग्दा हुन्। तर नदीको पानीसँगै, उनीहरूका बा बगे। उनीहरूका बाका सपना बगे। उनीहरूका ‘कुशे औंसी’ पनि बगे, कहिल्यै नफर्किने गरी।
आज बा हुनुहुन्नथ्यो त, बा सँगै बाका सपनाहरू पनि धुवाँ जस्तै उडेर हराउँदा हुन्। असिना जस्तै बिलाउँदा हुन्। पानी जस्तै बग्दा हुन्। हावा जस्तै उड्दा हुन्। बत्ती जस्तै निभ्दा हुन्। बा हुनुहुन्छ। सपनाहरूले सास फेरिरहेका छन्। सपनाहरू ज्युँदै छन्।
****
यो लेख लेख्दै गर्दाको अर्को एक साँझ, पिर्कामा बसिरहनुभएको बालाई सोधें, ‘बा तपाईंका अबका सपना के छन् ?’
बाले जुङ्गा मुसार्दै मुसुमुसु हाँसेर भन्नुभयो, ‘अब उस्ता सपनाहरू छैनन्। तिमीहरू भन्नु नै मेरा सपना हुन्। तिमीहरूका सपना नै मेरा सपना हुन्। बाँकी फूल फाल्नेमा फूल, पाती फाल्नेमा पाती म फालिहाल्छु।’
‘बा तपाईं बगैंचा हो। हामी फूल हौं। बगैंचा विनाको फूल, कहाँ फूल रहन्छ र ? बाआमाका सपनाहरूमा खुसीको रङ भर्न सकियोस्। बा–आमा भनेका विश्वविद्यालय हुन्। जीवनभर यहाँ पढिरहन पाइयोस्’ मौनताको पर्दा च्यातेर मैले भनें।
‘तेरा सपना होलान्। तिमीहरूका सपना होलान्। ती मेरा मात्रै सपना होइनन्। तेरी आमाका पनि सपना हुन्। सन्तान साझा भएपछि, सपना पनि त साझा हुँदा हुन्’ बाले फेरि भन्नुभयो।
‘मेरी लेख तेरो मासु खच्चरको डिगो,
तँ बाइगइ पन्धारा पोइल मेरो रैगो रिगो।’
कठै ! तिनीहरूका सुइना (सपना) पूरा हुँदासम्म मु बाँचुला त ! मु रे प्वाडी मान्दो (झुटो लाग्छ)। ज्याई हर (जे गर)। राम्रो हर’ ओदानबाट तावा झिक्दै आमा बोल्नुभयो।
आमाले बिंडी सल्काउनुभयो। बत्ती आयो। घर उज्यालो भयो नाटक सकिएपछिको रंगमञ्च जस्तै। यतिञ्जेल रेडियोमा लोकगीत बजिरहेको
थियो, लोक कवि केशरी धर्मराज थापाको ‘सुन मेरो निरमाया … !’ (साभार अनलाइन खबर )
बाजुरा
प्रतिक्रिया दिनुहोस