बाजुरा : महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान गर्न प्रदान गरिने ‘शी लिड्स आइकन अवार्ड’ को घोषणा गरिएको छ । आयोजक संस्था शी लिड्स आइकन (कल्प) ले प्रधानमन्त्री केपीशर्मा ओलीकै उपस्थितिमा विजेता तीनै जनाको नाम घोषणा गरेको हो । जसमा बाजुराको गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा पनि परेकी छन् ।
१ सय ४० जना आवेदन दिएका मध्ये २७ जनाबीच प्रतिस्पर्धी गरिएको थियो । प्राप्त आवेदनमध्ये कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिम प्रदेशबाट १५ महिला जनप्रतिनिधि सहभागी थिए । प्रतिस्पर्धाबाट बाजुराको गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा, सिंगास गाउँपालिका बैतडीकी उपाध्यक्ष धाना धामी र बडिगाड गाउँपालिका, बागलुङकी अध्यक्ष गण्डकी थापा अधिकारीले ‘शी लिड्स आइकन अवार्ड’ जितेकी हुन् ।
तीनै जना विजेतालाई प्रधानमन्त्री केपीशर्मा ओलीद्धारा सम्मान एवं प्रशंसापत्र प्रदान गरिएको हो । आइकन घोषित हुने उपाध्यक्षद्धय थापा र धामी नेकपा एमाले र अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । विजेता तीन जना मध्येकी सीता थापा तीनै व्यक्ति हुन्, जस्ले ५ वर्ष भारतको दिल्लीमा भाँडा माँझेर राजनीति सुरु गरेकी थिइन् ।
२०५९ सालदेखि ०६४ सालसम्म भारतको दिल्लीमा अरूको भाडा धुने, भात पकाउने काम गरेपछि सीता दम्पती नेपाल फर्किएको थियो । हाल पालिकाको दोस्रो कार्यकालको उपाध्यक्ष पदमा कार्यरत छन् । केही गर्ने सोच सीतामा सानै देखि थियो, तर आर्थिक सङ्कटले थलिएको पारिवारीक अवस्थाले भारतमै भाँडा धुने अवस्थामा पुर्यायो ।
भाडा र लुगा धोएर, खाना पकाएर एक हजार पाँच सयदेखि तीन हजार रुपैयासम्म पारिश्रमिक पाउँथिन्, सीता । उनका श्रीमान् ज्ञानबहादुर थापा पनि उनीसँगै मजदुरी गर्थे । उनको काम पनि अरूको गाडी धुने थियो । त्यसबापत पैसा लिने गथ्र्ये । गुजारा चलिरहेकै थियो । तर, केही गरौं भन्ने सोच भएकी सीतालाई त्यतिमै सीमित हुनु थिएन् । केही गर्न पनि स्वदेश फर्किनु पर्ने दबाब श्रीमानलाई दिइरहेकी हुन्थीन् ।
विवाह भएको दोस्रो वर्ष पेट पाल्न दुबै जना भारत पसेका थिए । ५ वर्ष बिताएपछि भने उनले फेरि आफ्नै गाउँ फर्किएर केही गर्ने र राजनीतिमा सक्रिय हुने सल्लाह दिइन् । तर भने जस्तो घर फर्किनु सीता दम्पत्तीलाई सहज थिएन् । घरमा पनि के खाने, के गर्ने के गर्ने भन्ने चिन्ताले सताइरहन्थ्यो । पाँच वर्ष बिताएर, उनीहरु नेपाल फर्किए र सानो व्यापार सुरु गरे । श्रीमानले व्यापार चलाउन थाले सीतालाई भने व्यापारसँगै राजनीति तर्फ चासो बढ्दै गयो । प्रवासमा बस्दा समेत सीता राजनीतिका विषयमा रुची राख्ने गरेकी थिइन् ।
सीता सानै हुँदा बुवा बिते र आमाले हुर्काइन् । पढ्ने रुचि हुँदा हुँदै पनि त्यो बेला छोरीलाई पढाउन समाज र परिवार तयार हुदैन् थे । तर, दाजुहरूको कारणले भने उनले पढ्न पाइन् । आफ्नो सपना साकार गर्न पाइन् । गाउँमा नेपाली काँग्रेसको दबदबा थियो तर पनि थापाले एमाले रोजिन् । त्यो उनका श्रीमानको प्रभाव थियो ।
सुरुमा अनेरास्ववियुसँग आवद्ध भइन् । जुन सक्रियता र लगनशिलताले २०६९ सालमा नेकपा एमाले बाजुरा जिल्लाको वैकल्पिक जिल्ला कमिटी सदस्य बनिन् । विद्यार्थी राजनीतिबाटै प्रखर वक्ता रहेकी उनलाई एमालेले २०७४ मा पहिलो पटक गौमुल गाउँपालिकाको उपाध्यक्षमा टिकट दियो । सहजै जित हात पारिन् ।
दोस्रो पटक २०७९ मा पनि उनको जितको बाधक कोही बन्न सकेनन् । पहिलो पटकको भन्दा दोस्रो पटक झन फराकिलो अन्तरले जित हात पारिन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन हुँदा पनि सीताको लोकप्रिय मत आयो । पालिकामा अध्यक्ष हरि बहादुर रोकाया पनि पहिलो र दोस्रो कार्यकाल निर्वाचित भएका हुन् ।
‘महिलालाई राजनीति गर्न सकस छ । पितृसत्तात्मक सोच अझै गाउँ समाजमा व्याप्त देखिन्छ । उनी त्यो चुनौती चिर्दै गएकी छन् । मोर्चाको कमाण्डर बन्न सक्ने, केही फरक गर्न सक्ने आँट सीतामा देखिन्छ । पुरुषको अघि निर्धक्क बोल्न सक्ने, आफ्ना कुरा राख्नु सक्ने, नेता कार्यकर्ताको व्यवस्थापनमा समेत कुशल क्षमता सीतासँग देखिन्छ ।
महिला इमानदार हुन्छन् महिलाले नेतृत्व गरेका स्थानीय तहमा पनि राम्रो भएको दाबी सीताको छ । महिला प्रतिको समाजको दृष्टीकोणबाट भने सीता दुखि छन् । ‘संविधानमा व्यवस्था नभएको भए उपाध्यक्ष पदमा पनि महिलाको उपस्थिति रहँदैन थियो होला,भन्ने आशंका सीता गर्छिन् ।’
राजनीतिमा लागेपछि परिवारलाई पर्याप्त समय दिन नसकिरहेको बताउँने सीताले परिवारकै साथ र सहयोगले सबै सफलता हासिल गरेको भन्छन् । मेरो श्रीमान नै मेरो आदर्श र सहयोगी हुन् । उहाँकै सहयोगले नै अघि बढ्न सकिरहेको छु, भारतमा भाडा माझ्ने काम छोड्न श्रीमानले नमानेको भए, यो स्थान नै हुदैन थिए, होला, सीताले थपिन् ।
‘शी लिड्स आइकन’को उपाधीले हौसियकी सीताले २७ भित्रै अटाउने कुरा पनि धेरै ठूलो लाग्थ्यो, मेरो कर्मकै कारण तीन जना भित्र समेटिएर सम्मान पाएँ, यो जीवनै खुसीको विषय हो, यसको निरन्तरता मेरा लागि चुनौति हो, तर डटेरै लाग्ने उनको वचन छ ।
दुई कार्यकाल उपाध्यक्ष भइसकेकी सीतालाई अब अध्यक्ष बन्ने रहर छ । ‘दुई कार्यकाल काम गरेको अनुभव र सीपले पनि अब नेतृत्वको जिम्मेवारी पाए अध्यक्षको जिम्मेवारी सहजै सम्हाल्न सक्छु जस्तो लाग्छ’ उनले भनिन्, ‘त्यसको लागि जनता र पार्टीले विश्वास गर्नुपर्छ ।’
‘पहिलो कार्यकालमा घोषणा पत्र अनुसार काम गरेको थिए पार्टी र जनता दुवैले त्यसको राम्रो मूल्याङ्कन गर्नुभएको रहेछ दोस्रो पटक पनि टिकट पाए र जिते,’ उनले भनिन् । विगतको बाँकी काम पुरा गर्नु नै पहिलो लक्ष्य रहेको उनी बताउँछिन् । आफ्नो कार्यकालमा महिला सहभागिता निकै उत्साहपूर्ण अवस्थामा रहेको उनको दाबी छ ।
गौमुलमा ‘उपभोक्ता समितिमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ । ‘एक घर एक महिला क्याप्टेन, एक टोल एक महिला समूह, एक वडा एक महिला अधिकार मञ्च पालिकाकै नीतिमा छ । गौमुल काम र सुशासनका दृष्टीले जिल्लाकै नमुना पालिका हो ।
७५ प्रतिशत झैझगडा र घरेलु हिंसा कम भएको उनलाई लाग्छ । गाउँपालिकामा सुरु गरेको स्वास्थ्य शिविरबाट थुप्रैले स्वास्थ्य लाभ लिएका छन् । विद्यालयमा किशोरी मैत्री वातावरण बनाइएको छ । पहिले महिनावारी हुँदा विद्यालयमा नजाने किशोरीहरू अहिले विद्यालय छोड्दैनन् । ‘विद्यालय मै अहिले सेनेटरी प्याड पाइन्छ । अभिभावक शिक्षा मार्फत महिनावारीमा पनि विद्यालय जान लाग्नुपर्छ भनेर लागिरहेका छौँ त्यसले विद्यार्थीको संख्यामा कमी आएको छैन’ उनले भनिन् ।
कुसंस्कारको अन्त्य गर्न र मदिरा व्यवस्थापन गर्न पालिकाका जनप्रतिनिधीको ठूलो योगदान छ । शी लिड्स आइकन’ विजेताको सम्मानले पालिकाको गौरव बढेको अध्यक्ष हरिबहादुर रोकायाले बताए । सामाजिक सञ्जालमा पनि सीताको सम्मानप्रति सहानुभूति दिने र बधाई दिनको बाक्लो भीड देखिन्छ ।
प्रतिक्रिया दिनुहोस