बिहिबार, २० बैशाख २०८१

बाजुराको वास्तविकता : खेलाडीसँग खेल्न मन छ, तर मार्तडीमा खेल्ने मैदान छैन् !

खेल संरचना विकासमा मुख दर्शक स्थानीय तह, लाचार जनप्रतिनिधी

बाजुरा : फुटबल र क्रिकेट खेलमा बाजुरा भोलिका लागि बलियो संभावना देखिन्छ । सुदूरपश्चिममा हुने खेलहरु हुन्, की अन्य कुनै क्षेत्रीय र राष्ट्रिय स्तरका आयोजना हुन्, त्यहाँ बाजुराको बलियो उपस्थिति रहने गरेको धेरै भइसक्यो ।  

क्रिकेट खेलको विकास भएको केही समय मात्रै भएपनि बाजुरामा फुटबल खेलको सुरुवाद र सानाठूलो प्रतियोगिता आयोजना गर्न थालिएको दुई दशक बितीसकेको छ । रानीवन स्पोर्टस् क्बलले ६० को दशकमै मार्तडीमा फुटबल आयोजना गर्न सुरु गरिसकेको थियो । ठुला प्रतियोगिताको सोच गरेपनि मैदान अभावले मार्तडीमा असंभव देखिएको छ । 

खेल साना मैदान, सानो प्रतियोगिता सुरु देखि नै मैदानकै समस्या यहाँका खेलाडीले भोग्न परेको छ । भलिबल र ब्याटमिन्टनका लागि प्रर्याप्त कोर्डहरु भेटिएपनि फुटबल र क्रिकेटका लागि बाजुरामै खेल मैदानको अभाव छ । कोल्टी, आटीचौरमा केही लाज ढाक्ने मैदान छन् । प्याराफिट सहीतको अन्र्तराष्ट्रिय स्तरको फुटबल मैदान बनाउने काममा दशरथ मावि सक्रिय छ । 

तर आर्थिक अभावमा पूर्ण हुन सकेको छैन् । छेडेदह स्पोर्टस् क्लबले सोही मैदानमा लगातार छेडेदह कप गरिरहेको छ । यो पटक गोल्डकप नै गर्ने योजनामा छ । कोल्टीमा पनि ९ एसा८का लागि मैदान छ । हिमालीको धुलाचौरमा देखाउनकै लागि भएपनि बनाउन सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकामा कर्णाली नदीले बनाएकै वर्ष बगाएर लगिसकेको छ । 

पशुपति मावि ताँप्रामा बनाएको मैदान एक पटक मदनआश्रीत स्मृति कप आयोजना गर्नु बाहेकका न स्तरोन्नती भयो, न अर्को प्रतियोगिता नै आयोजना लायक भयो । यतिबेला बुढीगंगा नगरपालिकाले ९ नम्बर वडामा फुटबल र क्रिकेटका लागि मैदान निर्माणको काम अघि सारेको देखिन्छ । 

तर बडीमालिका नगरपालिकाले कुनै न योजना छ । न एजेण्डा नै । खेलाडीले सयै पटक खेल मैदानको माग गरिसके । दर्जनौ पटक ध्यानाकर्षण पत्र बुझाए । स्थानीय सरकार हुन पहिला र पछि बेला बेला माग गरियो, तर कसैले पनि सुनुवाइ नगरेको आरोप रानीवन स्पोर्टस् क्लबका अध्यक्ष धनबहादुर रोकायाको छ । 

त्रिवेणी, स्वामिकात्र्तिक र गौमुलमा ठूलो मैदानका लागि योजनाको काम सुरु गरिएको छैन् । पहिलो आवश्यकता मार्तडीमा हो । मार्तडीकै क्लब रानीवन स्पोर्ट्स क्लब सि डिभिजन लिग खेलिरहेको छ । क्रिकेटकै क्षेत्रमा धेरै राम्रो प्रगति देखिन्छ । बडीमालिका २ घागरकी सरिता नाथले १९ वर्ष मुनीको राष्ट्रिय टिमबाट साफ खेलेर आइसकिन्, तर नगरपालिका र मार्तडी तातेको छैन् ।

हालको अवस्था हेर्दा बी र सि डिभिजन खेलिरहेका खेलाडी बाजुराले उत्पादन गरेको छ । किक्रेटको राष्ट्रिय टिमका लागि समेत बाजुराकै खेलाडी छनोट भएको अवस्था छ । तर मैदान बनाउन नगर सरकार र संघ प्रदेश ठोस योजना सहीत लागेको देखिदैन् । जितेका जनप्रतिनिधीले यस विषयमा कुरा उठाएपनि निर्णायक काम नै गरेको देखिदैन् ।

तत्कालिन उद्योग मन्त्री भएको बेला कर्णबहादुर थापाले खेल संरचना निर्माण र उज्यालो बाजुरा अभियान सुरु गरेपछि केही सुधारको आश गरिएको थियो । त्यसपछि त्यो गतिमा विराम लागेको छ । प्रदेश सरकारले प्रकाश शाह प्रदेश सरकारका मन्त्री हुँदा २ करोड बजेट मार्तडीमा खेल मैदान निर्माणका लागि आयो, तर त्यो बाउलीमा खर्च गरियो । 

जुन लगानी गरिएको ठाउँमा न दीगो खेल मैदानको भविष्य देखिन्छ, न लगानीको सही सदुपयोग भएको छ, बजेट सक्ने मात्रै काम गरिएको आरोप नेपाल राष्ट्रिय खेलकुद महासंघको छ । नगर प्रमुख पदम बडुवाल देखि हालमा अमर खड्काले घोषणा पत्र र बेला बेला खेलाडीसँग बाचा खेल मैदान बनाउने गरि गरेकै छन् ।

अमर खड्काले रजाली जाने बाटोको जमिन समेत हेर्न लगाएको र स्थानीयले समेत दिने कुरामा परामर्श र छलफलको काम भइरहेको बताएपनि प्रगति विवरण कतै देखिदैन् । खेलकुद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाले बेला बेला खेल मैदानको माग गरिरहेको भएपनि सुनुवाई नभएको गुनासो गर्ने गरेका छन् ।

मार्तडीमा खेल्ने मैदान नभएपनि बालबालिकाको फुटबल र क्रिकेटमा क्रेज भने लोभलाग्दो छ । विहान विद्यालय जानु पहिला र विद्यालयबाट फर्किसकेपछि सडक र आगँनहरुमा बालबालिका फुटबल गुडाइरहेको र क्रिकेटको बल हानीरहेको अवस्थामै भेटिने गरेका छन् । 

लामो समय पछि टिन ठोकेर लाज ढाकिएको खेलकुद मैदानको अगाडिको खाली भागमा खेलाडीहरु विहान बेलुका फुटबलमै झुमिएका देखिन्छन् । सानो मैदान, डोरी बाँधेर बनाइएको गोल पोष्ट, २० मिटर भित्रको मैदान तरपनि पालैपालो खेल्ने टिमहरुको धुँइचो देखिने गरेको छ ।

बालबालिकामा देखिएको यतिसम्मको क्रेजलाई संवोधन गर्न र बाजुराका युवा विद्यार्थीको भविष्य खेल जीवनसँग जोड्न पनि बाजुराको मार्तडीमा अनिवार्य खेल मैदानको जरुरी छ । कहिल्यै जमिन अभाव कहिल्यै जग्गा दाताको असहमति र कहिल्यै रकमकै अभाव देखाएर छल्ने कुरा स्वयम जनप्रतिनिधी बच्ने उपाय त, होला, तर दिर्घकालिन रुपमा बाजुराको खेल जीवनमा ठूलो क्षति पुग्ने विश्लेषण खेल प्रेमी एवं क्रिकेट खेलाडी महेश बाँनीयाले बताएका छन् । 

खेल मैदानको माग गर्दै सडकमा फुटबल खेल्ने, ज्ञापन पत्र बुझाउने र ताला बन्दी गर्नेसम्मका आन्दोदन गर्दा पनि स्थानीय सरकार नसुन्ने भएको आक्रोश केपी बा स्पोर्टस् क्लब तथा खेलकुद महासंघ बाजुराका जिल्ला अध्यक्ष लक्ष्मण रोकायाको छ । 

उनीहरुले अब निर्णायक आन्दोलन थाल्नु पर्ने मनसाय मनाएका छन् । यसै आर्थिक वर्षभित्र जमिनको टुंगो लगाएर खेल मैदानको डिपीआर निर्माण नसकाएर बडीमालिका नगरपालिकाका विरुद्ध खेलाडीले चरणवद्ध आन्दोलन सुरु गर्ने चेतावनी खेलाडी र खेलप्रेमीहरुको छ । 

मन भएर पनि मैदान अभावले खेल जीवनसँग जोडिन नपाउनु बाल अधिकारको हनन् हुने कार्य राज्यसत्ताबाटै गरिएको आरोप खेलप्रमीको छ । बाजुरामा केपी, जिपी, मदनआश्रीत, रानीवन, बडीमालिका, क्रियटर जोन ऐकेडेमीको खेलमेला जस्ता गतिविधी भइरहने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस