बिहिबार, २० बैशाख २०८१

सहासको मष्टेश्वरीमा विद्यालय कार्यक्रमको अनुगमन, भौतिक र शैक्षिक सुधारमा सहयोग

बाजुरा : सहयोगी हातहरुको समूह सहास नेपाल आफ्नो कार्यक्रम क्षेत्र मष्टेश्वरी आधारभूत विद्यालयको सर्वपक्षिय अनुगमन गरिएको छ । विद्यालयका सञ्चालन गरिएका कार्यक्रम र उपलब्धी बारे जानकारी लिन जनप्रतिनिधी सहीतको टोलीले सामुहीक अनुगमन गरेको हो ।

२०२१ देखि हालसम्म विद्यालय शैक्षिक सुधारका लागि गरिएका काम बारे जानकारी लिन र उपलब्धी बारे अभिभावक, शिक्षक र विद्यार्थी बीच अन्र्तक्रिया गर्न अनुगमन गरिएको सहास नेपालका जिल्ला कार्यक्रम संयोजक दिलबहादुर धामीले बताएका छन् । 

समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्र्तगत भौतिक पूर्वाधार विकास अन्र्तगत शौचालय मर्मत, खानेपानी, फर्निचौर सहयोग, विपत व्यवस्थापन तालिम र विद्यालय विपत व्यवस्थापन योजना निर्माण, विद्यालय शिक्षा रणनीतिक योजना निर्माण, मनोपरामर्श सम्बन्धी शिक्षक विद्यार्थीलाई तालिम सञ्चालन गर्ने गरिएको छ ।

विद्यालय शैक्षिक नक्साकन तथा अभ्यास, विपद जोखिम राहत तथा उद्दारका सामाग्रीहरु सहयोग, सिकाइ मेला आयोजना, २८ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई कापी कलम सहयोग, न्यानो कपडा सहयोग, बालमैत्री शिक्षण सिकाइ र किशोरी संवाद कक्षा सञ्चालन गर्ने गरिएको छ । 

अनुगमन जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहनु भएको कार्यक्रममा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, बडीमालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, बडीमालिका शिक्षा शाखा प्रमुख रंगमल विक, गौमुल शिक्षा शाखा प्रमुख राम नाथ योगी, शिक्षा समन्वय इकाइमा गोपालदत्त पाण्डे, बडीमालिका २ का अध्यक्ष डम्मर महत, ८ का अध्यक्ष चन्द्र थापा, गैसस अध्यक्ष कृष्ण अधिकारी सहीत सहभागि थिए । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरबहादुर थापाको अध्यक्षतामा अनुगमन टोली बीचको अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो । विद्यालयका प्रमुख मनबहादुर धामीले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक अवस्था, सहासले गरेको सहयोग र विद्यालयलाई पुगेको सहयोग बारे जानकारी गराएका थिए । 

ज्ञान सीप विकास र भौतिक पूर्वाधार सुधारमा सहयोगी हातहरुको समूह सहास नेपालले राम्रो सहयोग गरेको र नगरपालिका र अन्य निकायबाट पनि पालिकाबाटै विभेदमा पारिएको विद्यालयलाई सहयोग गर्न विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरबहादुर थापाले बताएका छन् ।

कक्षा ५ सम्म सञ्चालनमा रहेको विद्यालयमा जम्मा ८३ जना विद्यार्थी अध्ययनरत छन् । भने २ दरबन्दी, २ नगर शिक्षक, १ निजी, १ इसीडी शिक्षिका र १ जना कार्यालय सहयोगी कार्यरत छन् । विद्यालयमा अझै निजी श्रोतबाट शिक्षक पाल्नु पर्ने बाध्यता रहेको प्रअ मनबहादुर धामीले गुनासो गरेका छन् । 

विद्यालयमा कम विद्यार्थी देखिएकोले घागर र रापकको विद्यालय जोड्ने बारे पनि नगर प्रमुख अमर खड्काले योजना सहीत अघि बढ्ने तयारी भइरहेको जानकारी गराएका छन् । बोल्ने र सुझाव दिने बक्ताहरुले पनि भविष्यको जग भनेकै अहिलेको आधारभुत तहको शिक्षा भएकोले ध्यान दिन आग्रह गरेका छन् । 

जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले शैक्षिक सुधारका लागि ठोस योजना र नीति आवश्यक रहेको बताएका छन् । उहाँले सहास नेपालले गरेको लगानी अनुसार राम्रो उपलब्धी देखिएकोमा धन्यवाद दिएका छन् । अनुगमन कार्यक्रममा सेवा क्षेत्रका अभिभावक, विद्यार्थी पनि सहभागि थिए । सहास नेपालले जिल्लाका गौमुल, बडीमालिका र खप्तड छेडेदह गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिरहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस