बिहिबार, २० बैशाख २०८१

विद्यालय शिक्षा विरोधको होइन्, सरोकारको विषय बन्नु पर्छ !

टंकबहादुर सिंह 

शैक्षिक शत्र – २०८० को पालिका स्तरमा लिएको बार्षिक परीक्षाको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी चलिरहेका छन् । सामाजिक सञ्जाल देखि बाटो चौतारो तथा चिया पसल देखि भट्टी पसल सम्म चर्चाको विषय बनेको छ । यस विषयलाई लिएर सरोकारवाला पक्षहरुबीच आरोप प्रत्यारोप नै चलेको देख्न र सुन्न पाईन्छ । 

शिक्षकले राम्रो पढाएन, अभिभावकले आफ्ना बालबालिकाहरुलाई समय दिएन, बालबालिका नै अध्ययनशिल छैनन, राज्यले प्रर्याप्त आर्थिक तथा भौतिक सहयोग भएन, समुदायमा पढ्ने वातावरण नै छन् जस्ता टिका टिप्पणी हुन थालेको छन् । अझ को विद्यालय निल भए र कुन विद्यालयले राम्रो नतिजा ल्यायो भन्ने विषयले पनि चर्चा पाएको छ । तर यो विषयमा अब धेरै गन्थनमन्थन गरिरहन भने जरुरी देखिदैन । 

तुलनात्मक रुपमा विद्यालयहरु विचको उतिर्णदर कमबढी भएपनि सन्तोषजनक भने चैँ कुनै विद्यालयको पनि छैन। अनि समग्रमा पालिका भरिको नतिजा प्रशंसनिय हुने कुरै भएन । बरु अब शैक्षिक स्थिति कसरी सुधार गर्ने त भन्ने विषयमा छलफल अगाडि बढाउदा राम्रो हुन्छ । किनकी विद्यार्थीको न्यून उत्र्तीणदर एउटा समस्या हो भने यसको कारण र समस्या समाधानको उपाय माथि छलफल अगाडि बढाउनु अहिलेको आवश्यकता हो ।
न्यून उत्तीर्णदर हुनुमा के हुन सक्छ त कारण !  

कारण हो यसको मुल कारण र बस्तुगत धरातलिय समिक्षा नै हुदैन । सरोकारवाला पक्ष स्वयंले आफैलाई समिक्षा गरेको देखिदैन । समिक्षा छलफलको आयोजना आह्वान गरिन्छ  सबैले अर्कोको गल्ति औँल्याईन्छ अनि अब सुधार गर्ने भन्ने निर्णय गरिन्छ । यस्तै प्रकारले हरेक बर्षहरु वित्छन कुरा सकिन्छन । 

यसो विचार गरौँ त, हामी बालकक्षाबाट बालबालिकालाई कक्षा १ मा पठाउदा यि विषयमा ध्यान दिन्छौँ त अथवा बाल कक्षामा बालबालिकाले सिक्ने कुरा सिक्यो कि सिकेन भन्ने विषयमा कहिल्यै छलफल नै भएको पाईदैन । अनि कक्षा १ मा बालबालिकाले सिक्ने कुरा सिक्यो सिकेन भन्ने तिर हाम्रो समिक्षा कत्तिको भएको छ त, यसै गरी ३ कक्षा सम्म विद्यार्थीले केही पनि नसिकि ४ सम्म पुगेको हुन्छ । 

अनि कसरी विद्यार्थीको सिकाई प्रभावकारी हुन्छ त ! हो हाम्रा शिक्षक सरहरुको के कुरा गर्नु, यसै बर्ष केही दिन अघि प्रारम्भिक नतिजा माथि छलफल गर्न प्र.अ. हरुको बैठक बोलाईयो, एक जना प्र अ ले भन्नुभयो, “विद्यार्थीले आत्महत्या गर्यो भने नगरपालिकाले जिम्मा लिनु पर्छ” यति चिन्ता लिने हेडसरले बर्ष भरि कडा मेहनत गरेको भए के नतिजाको बेला यति सम्मको कमजोर शब्द बोल्नु पथ्र्यो त, थिएन ।

टसकोमस शिक्षण सहजीकरण विधि सुधार गर्न तयार नहुने, मेहनत गर्न तयार नहुने, पाठ्यक्रम अनुरुप सिप दक्षता बढाउन तयार नहुने जस्ता तमाम शिक्षक सरहरुको बानी पनि यो नतिजाको अर्को कारण हो । यो संगै आफ्ना बालबालिकाको अभिभावकले रेखदेख नगर्नु, नगर्नु मात्रै हैन कतिपय बालबालिका र  अभिभावकको भेट नभएको महिनौ भयोहोला । 

अझ विद्यालय र अभिभावकको भेट नभएको त बर्षौ भयोहोला। यसै विचमा विगतका बर्षहरुमा विद्यार्थीहरु फेल गर्न नपाउने प्रावधानको असर पनि हो। यि र यस्तै विभिन्न कारणले आज शिक्षा क्षेत्रमा यो गति हुन गएको हो।उसो भए के हो त यसमा सुधारको बाटो ?

समस्या आउनुको मुख्य कारण पत्ता नलगाई सुधारको बाटो तिर जान सकिदैन । ठाउँ, परिवेश र समुदय पिक्ष समस्याका कारणहरु पनि फरक फरक हुन सक्छन । त्यस अनुसार समाधानको मियो पनि फरक हुन सक्छ । यसो भनिरहदा परिक्षाफल माथि छलफल भने विगतका वर्षहरुमा पनि नभएका हैनन । अहो !! यस्तो नतिजा !! भनिन्छ, के गर्ने कसो गर्ने भनिन्छ अब सबैले आ–आफ्ना गल्ति सच्याउने भनेर प्रतिवद्धता गरिन्छ तर स्वयं भने बद्लिएको पाईदैन । 

अहिले भर्ना अभियानमा छौ, ४ वर्ष उमेर पुगेका सबै बालबालिका बालकक्षामा पुगे पुगेनन लेखाजोखा गरि सबै बालकालिकालाई विद्यालयमा ल्याउने योजना कार्यान्वयन गरौ । बालकक्षामा आई आधारभूत कुरा सिकेका बालबालिकालाई मात्र कक्षा १ मा लैजाउ र कक्षा १,२ र ३ मा सिक्नु पर्ने ज्ञान, सिप र धारणा पुरा नगरी कक्षा चडाउदै नचडाऔ । 

अहिले कक्षा ५ र ८ मा ३ बर्ष फेल भएकाले आत्महत्या गर्ने घुर्की देखाउनु भन्दा २÷३ बर्ष बरु तलै रोकौँ । समयमै भर्ना कार्यक्रम सकाएर सबै शिक्षकहरु समयमै विद्यालयमा हाजिर भए नभएको एकिन गरी सरोकारवाला सबैले खबरदारी गरौँ।पठनपाठन सूरु भए संगै विद्यार्थी विद्यालयमा पुगे नपुगेको एकिन गरी अभिभावक भेटघाट कार्याक्रम विद्यालयले सञ्चालन गरौँ । 

सबै विद्यार्थीलाई कक्षा नियमित गरौ। विद्यार्थी एक दिन पनि विद्यालयमा आएन भने कक्षा शिक्षकले दैनिक हाजिरी प्रशासनलाई सेयर गरी विद्यार्थी विद्यालय किन नआएको भनि अभिभावकलाई खबर गरौ । जसबाट विद्यार्थी नियमित हुनेमा सुधार हुन्छ र अभिभावकमा विद्यालय र शिक्षकप्रतिको सकारात्मक धारणाको पनि विकास हुन्छ । 

साप्ताहिक र मासिक रुपमा कक्षा टेष्ट लिने गरेको छ छैन नगरेका विद्यालयले त्यसको सुरुवात गरौ । यो फेरी कक्षा ८ का विद्यार्थीलाई मात्र नभई सबै कक्षामा लिने गरांै । पाठ पढाउदै कोर्स सक्दै गर्नु भन्दा समयमै विद्यार्थीले सिक्न छुटाएका कुरा पुरा गरौ । विद्यार्थीले होमवर्क गर्दैनन भनेर शिक्षकले मन नमारौ कि, किन गर्दैनन भनेर अनुसन्धान गरौं ।

त्यसको निराकरणका लागि विव्यस तथा शिक्षक अभिभावक संघमा फलफल गरौं । विद्यार्थी नियमित पनि छ, होमवर्क पनि गरेको हुन्छ तर सिकाई उपलब्धिमा सुधार हुदैन भने त्यसको लागि उपचारात्मक कक्षा सञ्चालन गरौ न कि परिक्षा केन्द्रित ट्युसन सञ्चालन गरौं । 

अभिभावकलाई कम्तिमा महिनाको एक दिन विद्यालयमा हाजिर लगाउने नियम बनाऔ।अभिभावकलाई उसको बालबालिकाको विद्यालयमा रहेको रेकर्डबारे जानकारी गरी सुधारको सुझाव दिने परिपाटीको विकास गरौ । विद्यार्थीलाई पिट्नु हुदैन सहि छ तर गल्ति गरे कार्वाही हुन्छ भन्ने कुराको बोध पनि त विद्यार्थीमा आवश्यक छ।सम्भव भए जति शैक्षिक सामाग्री स्थानिय स्रोत साधानको प्रयोग गरी बनाऔ । त्यसका अलवा सहयोगी निकाय संग माग गर्ने गरौं ।

पाठ्यपुस्तक भन्दा पाठ्यक्रम हेरेर शिक्षण सहजीकरण गर्ने बानिको विकास गरौ। सबै पक्ष जिम्मेवार बनौ र आफ्नो जिम्मेवारी ईमान्दारिताका साथ पुरा गरौं । यसका लागि आजैबाट सबै परिवर्तन हुन जरुरी छ । समस्याको बस्तुगतरुपमा धरातलिय गहन छलफल, योजना र कार्यान्वयन आजैबाट अगाडि बढाआंै । गुणस्तरिय शिक्षा नै समाज परिवर्तनको मुख्य आधार हो भन्ने कुरा व्यवाहारमा अवलम्वन गरौ। यति गरे पनि हालको सिकाई उपलब्धिमा सुधार हुने निश्चित छ ।

(सिंह हाल बुढीगंगा नगरपालिकाको रोजगार सहायक पदमा कार्यरत छन् ।)


 

प्रतिक्रिया दिनुहोस