बिहिबार, २० बैशाख २०८१

बाजुराको मार्तडीमा जारी खेल सप्ताहमा रानीवन र आयोजक क्रियटरको दबदबा

बाजुरा : मार्तडीमा जारी खेल सप्ताहमा रानीवन र आयोजक क्रियटर जोन ऐकेडेमीले दबदबा कायम राखेका छन् । अहिलेसम्म जारी खेलमा रानीवन र क्रियटर अग्रभागमा देखिएका छन् । 

क्रियटर जोन ऐकेडेमीले नव वर्ष २०८१ को अवसर पारी महिला पुरुष दुबै तर्फका भलिबल, फुटबल र ब्याडमिन्टल खेल आयोजना गरेको छ । चैत्र २६ गते देखि जारी खेलमा हालसम्म पुरुष र महिला तर्फको भलिबलमा फाइनल पुग्ने टोलीको टुंगो लागिसकेको छ ।

जस्मा पुरुष तर्फ रानीवन स्पोर्टस् क्लब र बोस बाजुरा फाइनल पुगेका छन् । भने महिला तर्फ आयोजक क्रियटर र क्रियटीभ युथ क्लब गौमुल प्रवेश गरेका छन् । दुबै टिमले उपाधीका लागि भोली विहान ९ बजे एक आपसमा भिड्ने आयोजक क्रियटरका प्रीन्सीपल मिन कार्कीले जानकारी दिएका छन् ।

यस्तै महिला पुरुष फुटबल तर्फपनि रानीवनले आफ्नो उष्कृष्ट प्रदर्शन देखाएको छ । अहिलेसम्मका महिला पुरुष दुबै टोलीले सबै खेल जितेको व्यवस्थापक भरत रोकायाले जानकारी दिएका छन् । सहभागि टिम मध्ये रानीवनले सबैमा राम्रो प्रर्दशन गरिरहेको छ । भने दोस्रोमा आयोजकले रानीवनलाई पछ्याइरहेको छ ।

समग्र खेल क्षेत्रको विकास र खेल प्रति खेलाडीको आकर्षण बढाउन विद्यालयका तर्फबाट खेल सप्ताह सुरु गरेको हो । खेल सप्ताहको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले चैत्र २६ गते उद्घाटन गरेका हुन् । 

खेल सप्ताहमा भलिबल पुरुष तर्फ १३ र महिला तर्फ ८, फुटबल पुरुष तर्फ ९ र महिला तर्फ ५, ब्याडमिन्टन पुरुष तर्फ ६ र महिला तर्फ ४ टिम सहभागि छन् । फुटबल सेभेन ए साइड खेलाइने छ । प्रवेश शुल्क सहीत खेलमा टिमहरु सहभागि गराइएको छ । भलिबल तर्फका खेलमा अछाम सहीत सुदूरपश्चिम प्रदेशबाटै राष्ट्रिय खेलका लागि छनोट भएका खेलाडीले भाग लिएका छन् । 

खेलमा भलिबल तर्फ प्रथम हुने पुरुष टिमले ५१ हजार १ सय ११ र द्धितीय हुनेले २५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाउने छन् । यस्तै महिला तर्फ प्रथम हुनेले २५ हजार ५ सय ५५ र द्धितीय हुनेले १३ हजार ३ सय ३३ रुपैया नगद सहीत प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै फुटबल पुरुष तर्फ प्रथम हुनेले ३३ हजार ३ सय ३३ र द्धितीय हुनेले १५ हजार ५ सय ५५ रुपैया पाउने छन् । महिलाले ११ हजार १ सय ११ र ५ हजार ५ सय ५५ रुपैया नगद र प्रमाण प्रत्र प्राप्त गर्नेछन् । 

यस्तै व्याडमिन्टन पुरुष तर्फ प्रथम हुने टिमले २२ हजार २ सय २२ र द्धितीय हुने टिमले ११ हजार १ सय ११ र महिला तर्फ प्रथम हुनेले ५ हजार ५ सय ५५ र द्धितीय हुनेले ३ हजार ३ सय ३३ नगद सहीत प्रमाण पत्र प्राप्त गर्ने छन् । 

खेलमा उत्साह जनक सहभागिता देखिएको छ । नेपाल प्रहरी देखि नेपाली सेना, क्षेत्रीय खेल खेलेका खेलाडी देखि विद्यालय क्याम्पस स्तरका खेलाडी पनि खेलमा सहभागि छन् । विद्यालयले साँस्कृतिक कार्यक्रम सहीत खेल सप्ताहको भव्य उद्घाटन गरेको हो । भने समापन पनि भव्य गर्ने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस