बिहिबार, २० बैशाख २०८१

जगन्नाथ गाउँपालिकासँग अब आफ्नै एम्बुलेन्स, उपचार सेवामा सहज हुने विश्वास

बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिकाले अवदेखि आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भारत सरकारको सहयोगमा नेपाल सरकारद्धारा दुर्गमको पालिका जगन्नाथलाई निशुल्क सहयोग गरेपछि जगन्नाथले अबदेखि आफ्नै स्वामित्वमा एम्बुलेन्स सञ्चालन गर्न लागेको हो । 

नेपाल सरकार र भारतीय दुतावासले सयुक्त रुपमा आयोजना गरेको औपचारिक कार्यक्रमका बीच एम्बुलेन्स हस्तान्त्रण गरिएको हो । एम्बुलेन्स जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले ग्रहण गरेका हुन् । 

नेपाल सकारका अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले उक्त एम्बुलेन्स चाबी हस्तान्तरण गरेका थिए । सहयोग प्राप्त गर्ने पालिका वा संस्थाका प्रमुखहरुले एम्बुलेन्सको चाबी बुझेका हुन् ।

भारतीय दुताबासले देशभर ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहार स्वरुप सहयोग हस्तान्तरण गरेको छ । ३५ वटा मध्ये एक एम्बुलेन्स जगन्नाथ गाउँपालिकाले प्राप्त गरेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । 

दुर्गम गाउँका विरामीलाई सहज स्वास्थ्य सेवामा पहुँच पुर्याउने एम्बुलेन्स सञ्चालन पछि सहयोग पुग्ने पालिका अध्यक्ष शाहीले बताएका छन् । जगन्नाथले पालिकाको केन्द्रमा सुविधा सम्पन्न पालिका अस्पताल भवनको निर्माण गरि सञ्चालनको तयारी गरेको छ । 

यस अघि बाजुराका बुढीगंगा, बडीमालिका, स्वामिकात्र्तिक खापर गाउँपालिकाले यस अघि नै एम्बुलेन्स सञ्चालन गरिसकेको छ । भने खप्तड छेडेदह गाउँपालिकालाई पनि काठमाडौं महानगर पालिकाले एम्बुलेन्स दिने निर्णय गरेको छ । 

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई वर्षको दुई पटक एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ । सोही अनुरुप आईतवार विभिन्न दुर्गम जिल्लाका स्थानीय तहलाई एम्बुलेन्स र स्कुल बसहरु हस्तान्तरण भएको छ । 
 

प्रतिक्रिया दिनुहोस