बिहिबार, २० बैशाख २०८१

बाजुराको क्रियटर जोन ऐकेडेमीमा खेल सप्ताह सुरु, भलिबल, फुटबल र व्याडमिन्टन एकसाथ आयोजना

बाजुरा : क्रियटर जोन ऐकेडेमीले बाजुरा सदरमुकाम मार्तडीमा खेल सप्ताह सुरु गरेको छ । समग्र खेल क्षेत्रको विकास र खेल प्रति खेलाडीको आकर्षण बढाउन विद्यालयका तर्फबाट खेल सप्ताह सुरु गरेको हो । एक साथ महिला र पुरुष दुबैका लागि खुला भलिबल, फुटबल र व्याडमिन्टल खेला सञ्चालन गरेको छ ।

जुनसुकै जिल्ला र पालिकाको खेलाडी र क्लबले भाग लिन पाउने गरि खेल आयोजना गरिएको क्रियटर जोन ऐकेडेमीका प्रिन्सीपल मिनबहादुर कार्कीले बताएका छन् । नयाँ वर्ष २०८१ को अवसर पारी खेल क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य सहीत तीन वटै खेलहरु महिला पुरुष दुबै समेटिने गरि सञ्चालन गरिएको कार्कीले जानकारी दिएका छन् ।

खेल सप्ताहको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले उद्घाटन गरेका हुन् । विद्यालय प्राङ्गणमै सञ्चालन हुने खेलहरु नयाँ वर्षको दिन पारेर समापन गरिने जानकारी गराइएको छ । पहिलो दिन महिला पुरुष भलिबल र पुरुष फुटबल तर्फका समूह चरणका खेलहरु सञ्चालन गरिएका छन् । खेल सप्ताहमा भलिबल पुरुष तर्फ १३ र महिला तर्फ ८, फुटबल पुरुष तर्फ ९ र महिला तर्फ ५, ब्याडमिन्टन पुरुष तर्फ ६ र महिला तर्फ ४ टिम सहभागि छन् । फुटबल सेभेन ए साइड खेलाइने छ ।

प्रवेश शुल्क सहीत खेलमा टिमहरु सहभागि गराइएको छ । हरेक वर्ष खेल सप्ताह आयोजना गर्दै आएको क्रियटरले यो वर्ष तीन वटा खेल विधालाई एकसाथ आयोजना गरेर सबै क्षेत्रका खेलाडीलाई एकै मैदानमा उतार्ने प्रयास गरेर राम्रो कामको थालनी गरेको उद्घाटन समारोहमा प्रमुख अतिथी सहीत दलका नेताहरुले शुभकामना दिएका छन् ।

खेलमा भलिबल तर्फ प्रथम हुने पुरुष टिमले ५१ हजार १ सय ११ र द्धितीय हुनेले २५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाउने छन् । यस्तै महिला तर्फ प्रथम हुनेले २५ हजार ५ सय ५५ र द्धितीय हुनेले १३ हजार ३ सय ३३ रुपैया नगद सहीत प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै फुटबल पुरुष तर्फ प्रथम हुनेले ३३ हजार ३ सय ३३ र द्धितीय हुनेले १५ हजार ५ सय ५५ रुपैया पाउने छन् । महिलाले ११ हजार १ सय ११ र ५ हजार ५ सय ५५ रुपैया नगद र प्रमाण प्रत्र प्राप्त गर्नेछन् ।

यस्तै व्याडमिन्टन पुरुष तर्फ प्रथम हुने टिमले २२ हजार २ सय २२ र द्धितीय हुने टिमले ११ हजार १ सय ११ र महिला तर्फ प्रथम हुनेले ५ हजार ५ सय ५५ र द्धितीय हुनेले ३ हजार ३ सय ३३ नगद सहीत प्रमाण पत्र प्राप्त गर्ने छन् ।

खेलमा उत्साह जनक सहभागिता देखिएको छ । नेपाल प्रहरी देखि नेपाली सेना, क्षेत्रीय खेल खेलेका खेलाडी देखि विद्यालय क्याम्पस स्तरका खेलाडी पनि खेलमा सहभागि छन् । विद्यालयले साँस्कृतिक कार्यक्रम सहीत खेल सप्ताहको भव्य उद्घाटन गरेको हो ।

प्रतिक्रिया दिनुहोस